ब्रिटिश दूतावासको ‘महिला नेतृत्व विकास कार्यक्रम’का लागि आवेदन माग

जीविको २०७८ कार्तिक ११ गते ७:२०

काठमाडौं स्थित ब्रिटिश दूतावासले नेपाली युवा महिलालाई महिला नेतृत्व विकास परामर्श दिँदै छ । यो कार्यक्रम दूतावास र महिलाहरूको नेतृत्व विकासमा केन्द्रित एजेन्सीहरुद्वरा संचालित एक वर्ष लामो परामर्श/ मार्गदर्शन कार्यक्रम हो । यस कार्यक्रम अन्तर्गत नेपाली महिलाहरूको नेतृत्व विकासका लागि महिला राजदूतहरू र महिला नेतृत्वको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न निकायहरूका प्रमुखद्वारा नेतृत्व विकासका लागि सल्लाह, सुझाव र परामर्श प्रदान गरिन्छ । कार्यक्रम अवधिभर नेपालमा बसोबास गर्ने १८ देखि ३० वर्ष उमेर समूहका महिलाहरूले आवेदन दिन सक्नेछन् । कुनै पनि दूतावास वा कार्यक्रममा जोडिएका संस्थाका कर्मचारीका परिवारका सदस्यहरू भने आवेदन दिन योग्य हुने छैनन् । विशेष गरी अल्पसंख्यक वा सीमान्तकृत समुदायका महिलाहरूलाई आवेदन दिन ब्रिटिश दूतावासले आव्हान गरेको छ । १६ नोभेम्बर २०२१ सम्म आवेदन दिन सकिन्छ ।

के हुन्छ कार्यक्रममा ?

  • नेतृत्व र क्षमता विकासमा केन्द्रित भएर विभिन्न क्षेत्रमा नेतृत्व तहमा रहेकाहरूबाट छनोट भएकाहरूलाई ६ वटा विशेष परामर्श सत्रमा सहभागि गराइने छ । आफ्ना प्राथमिकताहरू तय गर्न, लक्ष्यहरू निर्धारण गर्न, योजना , नेटवर्किङ, संचार,व्यक्तित्व विकासका लागि प्रोत्साहित गरिनेछ ।
  • विभिन्न क्षेत्रमाकृयाशीलव्यक्तीहरूसँग सम्बन्ध निर्माण (नेटवर्किङ) का लागि अवसर प्राप्त हुने छ । दूतावासहरूद्वारा आयोजना हुने सान्दर्भिक कार्यक्रम तथा बैठकहरूमा छनोट भएकाहरूलाई सामेल गराइने छ ।
  • एक दिनका लागिसहभागीलाई दूतावास र एजेन्सीहरूका वरिष्ठ अधिकारीहरूसँग ‘छाया भूमिका’मा रहेर काम गर्ने अवसर दिइने छ । अवस्था अनुकुल भएमा तपाईंलाई राजदूत, एजेन्सी प्रमुख लगायतका वरिष्ठ अधिकारीहरूको दैनिक कार्य तालिकाहरू अवलोकन गर्ने अवसर प्रदान गरिनेछ जसका लागि आयोजकले पूरा दिनको तालिका योजना गर्नेछ ।
  • नेतृत्व तहमा रहेका परामर्शदाताहरू र छनोट भएका सहभागीहरूले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा कार्यक्रमको आयोजना गरेर महिला नेतृत्वलाई प्रोत्साहन गर्ने छन् ।

कोभिडको अवस्थालाई मध्यनजर गर्दै उल्लेखित गतिविधिहरू साना समूहहरूमा वा अनलाइनबाटै पनि हुन सक्नेछ । दूतावासका अनुसार सम्पूर्ण कार्यक्रमहरू समय परिस्थितिमा निर्भर हुनेछ ।

कसरी सहभागि हुने ?
तपाईं यस नेतृत्व विकास कार्यक्रममा किन सहभागी हुन चाहनुहुन्छ र अन्य देशहरू र विकास एजेन्सीहरूले नेपालमा युवाहरूलाई सशक्त बनाउन के गर्न सक्छन् भन्ने कुराहरु समेटेर अधिकतम १ मिनेटको आफ्नो भिडियो बनाउनु होस् । भिडियो नेपाली वा अंग्रेजी कुनै एक भाषामा बनाउन सकिन्छ। तयार भएको भिडियोलाई WeTransfer, YouTube वा Google Drive मा अपलोड गरेर [email protected] मा लिङ्क पठाउनुहोस् । इमेलको विषय ‘Application: Leadership Mentoring Programme 2021’ लेख्नुहोस । ल्यान्डस्केप वा होरिजेन्टल मोडमा भिडियो शूट गर्नु पर्ने हुन्छ र रेकर्डिङ गर्दा अनावश्यक हल्ला/आवाजलाई नराखी प्रष्ट र उज्यालो भिडियो पठाउनु पर्ने हुन्छ । रचनात्मक ढाँचा र शैलीमा भिडियो बनाउनका लागि दूतावासले आवेदकलाई प्रोत्साहन गरेको छ । ठूला फाइल नपठाउन पनि आयोजकले आग्रह गरेको छ । भिडियो पेश गर्दा पूरा नाम, उमेर, ठेगाना र सम्पर्क नम्बर (हरू) इमेलमा राख्नुहोस् ।

राजदूत तथा प्रमुखहरूको नेतृत्वमा रहेको छनोट समितिले आवेदनहरूको समीक्षा गर्नेछ र निम्न कुराहरुलाई आधार बनाएर सहभागि छनोट गर्ने छ ;

  • आवेदकको उत्साह
  • रचनात्मकता
  • आवेदकले यस अवसरबाट कसरी लाभ उठाउनेछ भन्ने बुझाइ
  • आवेदकले कार्यक्रममा सिकेको कुरा कसरी प्रयोग गर्छ भन्ने भन्ने स्पष्ट विचार वा खाका

यस् विषय सम्बन्धि कुनै प्रश्न वा जिज्ञासा भएमा [email protected] मा ‘Query: Leadership Mentoring Programme 2021’ लेखी इमेल गर्न सकिन्छ । आवेदनको नतिजा ७ डिसेम्बर २०२१ मा प्रकाशन हुनेछ । छनोट भएका आवेदकलाई आयोजकले सम्पर्क गर्नेछ । काठमाडौं बाहिरबाट छनोट भएका आवेदकलाई यातायात र बस्ने खर्च आयोजकले उपलब्ध गराउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *