
सरकारले बन्द गर्ने निर्णय गरेको सामाजिक सञ्जाल चलाउने के उपाय छ?
काठमाडौं । सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकृत हुन तोकिएको समयसीमा भित्र दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरेको हो। मन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बिहीबार बसेको बैठकले फेसबुक, युट्युब, एक्स (ट्विटर) लगायत २६ वटा सञ्जाल नेपालमा बन्द गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले जनाएको छ।
यसअघि सरकारले सामाजिक सञ्जाललाई दर्ता गर्न सात दिनको समय दिएको थियो। सो म्याद बुधबार राति १२ बजे सकिएको हो।
नेपालमा अहिलेसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै दर्ता भएका छन्। अन्य सामाजिक सञ्जाल भने तोकिएको समयमा सूचीकरणका लागि सम्पर्कमा आएका छैनन्।
यसअघि सर्वोच्च अदालतले पनि दर्ता नभएका सामाजिक सञ्जाल, ओटीटी एप्स र इन्टरनेट ब्राउजरमार्फत विज्ञापनसहितका सामग्रीमाथि प्रतिबन्ध लगाउन सरकारलाई परमादेश दिएको थियो।
सरकारको निर्णयअनुसार, अब दर्ता नगरेका सामाजिक सञ्जाल नेपालभित्र प्रयोगमा रोक लगाइने छ। नेपालमा भाइबर, टिकटक भने दर्ता छ।
सुरक्षित VPN मार्फत प्रयोग गर्न सकिन्छ
यदि फेसबुक, युट्युब वा एक्स जस्ता एप बन्द भए भने पनि, VPN प्रयोग गरेर ती सजिलै खोल्न सकिन्छ।
👉 VPN (Virtual Private Network) भन्नाले इन्टरनेट प्रयोग गर्दा तपाईंको फोन वा कम्प्युटरलाई अर्को देशको सर्भरमा जोडिदिन्छ। यसले गर्दा तपाईँ नेपालमा नभएर अर्को देशमा बसेको जस्तै देखिन्छ। त्यसैले नेपालमा बन्द गरिएको वेबसाइट वा एप पनि तपाईंको मोबाइलमा खुल्छ।
साधारण उदाहरण:
मानौँ कुनै पसलको ढोका नेपालमा बन्द छ। VPN भनेको त्यही पसलमा अर्को ढोका खोल्ने चाबी हो, जसले तपाईंलाई अर्को बाटो देखाएर पसलभित्र छिराउँछ।
VPN प्रयोग गर्ने तरिका:
- गुगल प्ले स्टोर वा एप स्टोरमा गएर VPN भनेर खोज्ने।
- निःशुल्क (Free) वा भुक्तानी (Paid) VPN डाउनलोड गर्ने।
- एप खोलेर “Connect” थिच्ने।
- VPN जडान भएपछि फेसबुक, युट्युब वा एक्स सजिलै खुल्छ।
कुन VPN प्रयोग गर्ने?
- निःशुल्क VPN सजिलै पाइन्छन्, छोटो समयका लागि प्रयोग गर्न सकिन्छ। तर, विज्ञापन धेरै देखाउँछन् र कहिलेकाहीँ गति (speed) सुस्त हुन्छ।
- भुक्तानी (Premium) VPN अझ सुरक्षित र भरपर्दा हुन्छन्। गोपनीयता (Privacy) सुरक्षित राख्नका लागि यी उत्तम मानिन्छन्।
👉 ध्यान दिनुपर्ने कुरा: VPN प्रयोग गर्दा इन्टरनेट केही ढिलो हुन सक्छ। साथै, अज्ञात वा विश्वासिलो नलाग्ने VPN प्रयोग नगर्नुहोस्, किनकि यसले तपाईंको व्यक्तिगत डाटा जोखिममा पर्न सक्छ।
यस्तो छ सूचना;
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना
मितिः २०८२।०५।१९
सम्मानित सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले अदालतको अवहेलनासम्बन्धी मुद्दा (मुद्दा नं. ०८०-CF ००१२) मा स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सञ्चालन पूर्वअनिवार्य रूपमा सम्बन्धित साधिकार निकायबाट सूचीकरण गरी अनिच्छित सामाग्रीहरुको मूल्याङ्कन र अनुगमन गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ।
उक्त आदेश परिपालनाका लागि मिति २०८२।०५।०९ मा नेपाल सरकार (मन्त्रिपरिषद्) बाट भएको निर्णयानुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम सात(७) दिनको म्याद दिई सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सूचीकरण गर्नका लागि मिति २०८२।०५।१२ मा सार्वजनिक सूचना प्रकाशन गरिएकोमा तोकिएको समय सिमाभित्र सूचीकरणका लागि मन्त्रालयमा सम्पर्क गर्न नआएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको व्यहोरा सवै सरोकारवालालाई जानकारी गराइन्छ ।
