
४० वर्ष अरुको घरमा काम गरेकी कान्छी, जब सिंहदरबार छिरिन्
काभ्रेकी कान्छी दुलाल ४ दशक अगाडि काठमाडौं छिर्दा सपना थिए, शहरमा केही कमाउने, छोरीहरू पढाउने, अनि एक दिन आफ्नो पनि घर हुने। तर सहरले उनलाई कहिल्यै ‘आफ्नो’ जस्तो व्यवहार गरेन। उनी ४० वर्षसम्म कसैको घरमा लुगा धोइन्, कसैको भाँडा माझिन्, कसैका बच्चा हेरेर हुर्काइन्, अनि कहिले–कहिले साहुको जुत्ता पनि पालिस गरिन्।
तर आज, उमेरले ७० वर्ष पार गर्दा, त्यही शहरले उनलाई भनिरहेको छ, “अब तपाईंको उमेर त काम गर्ने हैन, घरमै बस्ने हो।” तर कान्छी दुलाललाई थाहा छ, ‘घरमै बस्ने’ छुट उसलाई छैन। न पेन्सन छ, न बचत, न कुनै सामाजिक सुरक्षा।
उनको जीवनले एउटा गम्भीर प्रश्न उठाउँछ के हाम्रो देशमा चार दशक काम गरे पनि कुनै श्रमिक खाली हात हुन सक्छ?
२०४० सालताका उनले पहिलोपटक जागिर पाएकी थिइन् काठमाडौंको एक घरमा। महिनाको १०-२० रुपैयाँ तलब थियो, त्यो बेला त्यो निकै ठुलो रकम लाग्थ्यो। समयसँगै पारिश्रमिक बढ्दै गयो, तर त्यो वृद्धिदर जीवनको आवश्यकतासँग मेल खाएन। बजार चर्किंदै गयो, तर उनकी आम्दानी बढ्न सकेन। कमाइले पेट पाल्थ्यो, तर औषधि किन्न कहिलेकाहीँ पुगेन। कोठा भाडा, छोरीको स्कुल फिस, खाना खर्च यी सबैले गर्दा कहिल्यै बैंक खातामा बचत हुने गरी पैसा बचाउनै पाइएन।
“छोराछोरीको खर्च टार्नै गाह्रो, बचत कहाँबाट गर्नु?” उनी भन्छिन्।
बिहान ५ बजे उठेर राति १० बजे सुत्ने दिनहरू उनका लागि सामान्य थिए। त्यो बिचमा उनी तीन–तीन वटा घरमा काम गर्थिन्—पहिलो घरमा बिहानको चिया तयार गर्नु, दोस्रो घरमा दिउँसो भाँडा माझ्नु, अनि तेस्रो घरमा साँझको खाना पकाउनु। कहिले बास नपाएर कोठाको कुनामा छोरीसँग सुत्थिन्, कहिले महिनौंपछि मात्रै तलब हात पाउँथिन्। साहुको घरमा बच्चा रुँदा पनि उनी नै उठ्थिन्, मानौं उनी आफू थकाइले थलिएकी होइन, कुनै मेसिन हुन् जसलाई आराम भन्नु पनि पाप हो।
हेर्नुहोस् : जब ४० वर्ष अर्काकै घरमा काम गरेकी कान्छी सिंहदरबार छिरिन् : भिडियो लिङ्क
अहिले उनको स्वास्थ्य कमजोर हुँदै गइरहेको छ। हात काँप्छन्, घुँडाले अड्याउन गाह्रो हुन्छ, र आँखा धमिलो देख्न थाल्छन्। तर पनि उनी काम खोज्दै हिंडिरहेकी छन् उनको घरको चुलो आफैँले बाल्नुछ, बत्तीको बिल तिनै हातले तिर्नुछ। राज्यबाट उनीजस्ता श्रमिकका लागि ‘अब तिमी आराम गर’ भन्ने सुविधा कहिल्यै बनेन।
नेपालमा घरेलु श्रमिकको अवस्था: कान्छी दुलाल एउटी प्रतिनिधि पात्रमात्र हुन्
कान्छी दुलाल मात्र एक जना होइनन्, उनी एक प्रतिनिधि पात्र हुन्—नेपालभरिका सयौं–हजारौं महिला घरेलु श्रमिकहरूको जीवनको सारांश हुन् उनी।
नेपालमा घरेलु श्रमिकको संख्या करिब २ लाख रहेको अन्तराष्ट्रिय आप्रवासन संगठन बताउँँछ । यीमध्ये धेरैजसो महिला हुन्, जसको श्रम अदृश्य छ, मूल्याङ्कन नगरिएको छ, र कानुनी हिसाबले औपचारिक मानिएको भए पनि व्यवहारमा उपेक्षित छ।
श्रम ऐन २०७४ ले घरेलु श्रमिकलाई पनि औपचारिक श्रमिकको रूपमा समावेश गरे तापनि, व्यवहारमा तिनको काम र तिनको अधिकारको सुनुवाइ नगन्य छ। न त उनीहरू सामाजिक सुरक्षा कोषमा समावेश छन्, न त उनीहरूको तलब निर्धारणको न्यूनतम मापदण्ड लागू भएको पाइन्छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) ले २०२२ मा प्रकाशित गरेको विश्व सामाजिक सुरक्षा प्रतिवेदन अनुसार, नेपालमा सामाजिक सुरक्षा योजनामा आबद्ध जनसंख्या जम्मा १७% मात्र छ।
यही प्रतिवेदनले देखाउँछ—नेपालमा अधिकांश श्रमिकहरू अझै अनौपचारिक श्रम बजारमा छन्, र घरेलु श्रमिकहरू त झनै बाहिर छन्। उनीहरू योगदानदाताको सूचीमा पर्दैनन्, उनीहरूको बीमा हुँदैन, पेन्सन योजना हुँदैन।
UN/ILO को २०१६ को रिपोर्ट अनुसार, विश्वभरका घरेलु श्रमिकमध्ये ९०% भन्दा बढी सामाजिक सुरक्षाबाट वञ्चित छन्, र नेपालमा यो स्थिति अझै स्पष्ट रूपमा देखिन्छ।
सामाजिक सुरक्षा कोष (SSF) ले हाल केही प्रयासहरू थालेको छ। २०२३ को रिपोर्ट अनुसार, ७ लाखभन्दा बढी अनौपचारिक श्रमिक दर्ता भइसकेका छन्, तर तीमध्ये अधिकांश स्वरोजगार व्यवसायी हुन्। घरेलु श्रमिकहरू भने अझैपनि यस प्रणालीको पहुँचबाहिर छन्।
कान्छी दुलाल सिंहदरबार पुगेकी थिइन्। युवालय संस्थाले सहकार्य गरेर कान्छी जस्ता घरेलु श्रम गर्नेहरुलाई सिंहदरबार पुर्याएको थियो । श्रम मन्त्रालयको ढोका ठटाउँदै उनले श्रममन्त्रीलाई भनिन्, “मैले ४० वर्ष काम गरेँ, तर अहिले न पेन्सन छ, न बीमा, न राहत। म जस्ता श्रमिकको लागि केही गरिदिनुस्, कम्तिमा हाम्रो सन्तानले यो नियति नभोगून।”
शायद त्यो आवाज सिंहदरबारको भित्ताभित्रै हरायो होला। तर कान्छी दुलालका स्वर आजका तमाम श्रमिकका प्रश्न हुन् ‘तपाईं हामीलाई कामको वर्गमा राख्नुहुन्छ, तर जीवनको सुरक्षा किन दिँदैन?’
युवालयका कार्यकारी अधिकृत सञ्जिब अधिकारी भन्छन्, “सरकारले घरेलु श्रमिकको पञ्जिकरण गरोस्, आधारभूत पारिश्रमिक तय गरिदियोस्, सामजिक सुरक्षाका कार्यक्रमहरुमा घरेलु श्रमिकलाई पनि समेट्ने खालका योजना बनाइदियोस् ।”
उनी थप्छन्, “विदेशमा यही काम गर्ने श्रमिकका लागि राम्रो तलब, राम्रो रोजगारी छ, नेपालमा घरेलु श्रमिकलाई हेर्ने दृष्णिकोण फरक छ, सरकारले अन्य कामझैँ घरेलु श्रमलाई महत्व दिन जरुरी छ ।”
देशले विकासका ठूला कुरा गरिरहेको बेला, एउटी महिलाले ४० वर्ष अर्काको घरको धुलो झारेर पनि जब न कुनै अधिकार पाउँछिन्, न राहत, तब त्यो देशको नीति मात्र होइन, आत्मा पनि गरिब लाग्छ।
