जब स्टार्टअपको सपना खाडीमा गएर टुङ्गिन्छ 

प्रतिक ढकाल २०८२ असार २ गते १३:०१

दुबईको तातो मरुभूमिमा २५ वर्षीय सुरेश खड्का पसिना चुहाउँदै केमिकल उद्योगमा काम गरिरहेका छन् । खाडीको गर्मीका काम गर्ने मानसपटालमा मनमा गाउँको माटोमा कुटो र खुरपी समातेर लसुन-प्याजको सपना रोपेका दिनहरू अझै ताजा छन्। सल्यानको दार्मा गाउँपालिकामा हुर्किएका सुरेशले वर्षदिन अघिसम्म आफ्नो हातमा पासपोर्ट पर्छ, परदेशको बाटो लाग्नुपर्छ भन्ने सोचेकै थिएनन् ।

 “म त नेपालकै माटो गोड्दै, घरबारी स्याहर्दै बसेको हुँ मलाई त परदेशको मरुभूमिमा पसिना बगाउन मन थिएन,” उनी भन्छन् । सुरेशको गाउँमा ५० घर छन्, ती कुनै घरमा युवा छैनन् । कुनै बेला युवाको हाँसो, मजाक रेला ठट्टाले गुञ्जिने गाउँमा अहिले न्याउली रोएको मात्र सुनिन्छ । गाउँ बुढापाकाको मात्र भयो । उनी भन्छन्, “टिक्न गार्हो भयो हजुर, अब त १८ वर्ष पुगेकाहरु गाउँ बस्नै मन गर्दैनन् ।” 

दैनिक विदेशिनको लर्को एयरपोर्टमा पुगिरहँदा  सुरेशले नेपालमा बस्ने हिम्मत नजुटाएका होइनन् तर दिन, महिना वर्ष रित्तो खल्तीले जवाफ खोज्न थाल्यो । उनले नेपाल हुँदा व्यवसायिक, प्याज अनि लसुन खेती गरे । “मैले त सोचेको थिएँ, यो खेतले मलाई पाल्छ, मेरो परिवारलाई पाल्छ,” उनले भने, ” ३० हजार क्विँटलमा बीऊ किने खेत जोतेँ पसिना बगाएँ तर बजारले मेरो मेहनतलाई सात हजारको क्विन्टलमा तौलियो।” उनले फलाएको लसुन अहिले पनि गोदाममा छन् फलाउने हात भने परदेशिएको छ ।

सुरेशको गोदाममा थन्किएको लसुन

 यो केवल सुरेशको कथा होइन, यो त हजारौँ नेपाली युवाको साझा कथा हो। नेपालमा स्टार्टअपको सपना बोकेर हिँड्नेहरूको कथा आशाले सुरु हुन्छ, तर प्रणालीको जटिलता, बजारको बेवास्ता र नीतिको पहुँचहीनताले ती सपनाहरू निराशामा बदलिन्छन्। नेपालमा अहिले औपचारिक रूपमा कति स्टार्टअप दर्ता छन् भन्ने सरकारी तथ्याङ्क त छैन, तर ‘इनोभेशन र उद्यम प्रवर्द्धन केन्द्र’को अनौपचारिक अनुमानअनुसार करिब १५ हजार स्टार्टअप दर्ता भएका छन्। तथापि, हरेक दिन ११ स्टार्टअप बन्द हुन्छन्। दुई वर्ष नपुग्दै ६०% स्टार्टअप असफल हुने दरले यो कथालाई अझ पीडादायी बनाउँछ। 

तत्थ्याङ्क : हरेक दिन ११ स्टार्टअप बन्द हुन्छन्

सुरेशको मन कटक्क खान्छ, जब नेताहरूको आरोप सुन्छन् “युवाहरु देशमा गर्न खोज्दैनन्!” गाउँको माटोमा कुटो-खुर्पा बोकेर बगाएको पसिना बजारमा सात हजारमा तौलिन्छ, मेहनत गोदाममा कुहिन्छ, र सपनाहरू बिचौलियाको हातमा सस्तिन्छन्। नेपाल बस्न मन नहुने को होला? तर जब पासपोर्टले परदेश बोलाउँछ, जोडबल गर्दा पनि नसकेर मेरा साथीहरू विदेशिन बाध्य छन्।

 माटोसँग जोडिएको जीवनको मूल्य किन यति सस्तो भयो? देशको मायाले मात्र पेट भरिँदैन, जब अवसरको ढोका सधैं बन्द हुन्छ । चितवनको भरतपुर-२२ मा विष्णु प्रसाद आचार्यको कथा पनि उस्तै मार्मिक छ । । मेसिनको गडगडाहटमा उनको भविष्यको गीत बुनिन्थ्यो, तर बाँकीमा सामान जानु, सिमेन्टको मूल्यको उतारचढावले व्यवसाय टिकेन । बनाएका सामान गोदाममै थुप्रिए, बिक्री भएनन्। भवन जोड्ने कंक्रिटका पिलरहरूले उनको सपनालाई उभ्याउन सकेनन्; बरु ऋणको बोझ र बजारको बेवास्ताले उनको हौसला लडायो। अन्ततः, पासपोर्टको पानाले उनलाई परदेशको बाटो देखायो।

 नेपालमै केही गर्छु भन्ने हुटहुटीले गाउँमा उद्योग खोलेका विष्णु आज परदेशको मरुभूमिमा पसिना बगाउँदै छन् । “गर्न खोज्दापनि नसकेपछि के गर्नु ? देश बस्छु भनेर आदर्शका गफले मात्र युवा टिक्छ र ? घरमा चामल चाहिन्न, छोराछोरीको आवश्यकताले सताउँदैन र ?” उनी भन्छन्, “सरकारले एकपटक गणना गरोस् ५० प्रतिश बढी नेपालमा गर्न खोज्दा खोज्दै पनि नसकेर विदेशिएका हुन् नेपालमा सपना देख्न महंगो छ हजुर,” 

विष्णुले चितवनमा चलाएको कङ्क्रिट उद्योग

यो निराशाको कथा केवल व्यक्तिगत सपनाको हार होइन, यो त समग्र देशको आर्थिक संरचनाको कमजोरीको कथा हो। विश्व बैंकको २०२५ को तत्थ्याङ्क अनुसार नेपालको आर्थिक वृद्धि सन् १९९६ देखि २०२३ सम्म औसत ४.२% मात्र रह्यो, जुन दक्षिण एसियाका आठ देशमध्ये छैटौँ स्थानमा छ। 

नेपालमा स्टार्टअपहरूको असफलताको दर उच्च छ। उद्योग विभागका दर्ता भएका स्टार्टअपमध्ये हरेक दिन ११ वटा बन्द हुन्छन्, अर्थात् वार्षिक ४ हजार  भन्दा बढी। यो तथ्याङ्कले ४०% स्टार्टअपहरू दुई वर्ष नपुग्दै असफल हुने कुरालाई पुष्टि गर्छ। 

नेपालको स्टार्टअप पारिस्थितिकी प्रणालीमा पूँजीको पहुँच एउटा ठूलो चुनौती हो। विश्व बैंकको तथ्याङ्कअनुसार, नेपालको निजी क्षेत्रमा लगानी न्यून छ, र ब्याङ्कहरूले धितोबिना कर्जा दिन हिचकिचाउँछन्। 

बजारको अर्को समस्या भनेको माग र आपूर्तिको असन्तुलन हो। नेपालमा उत्पादित वस्तुहरू, जस्तै सुरेशको प्याज-लसुन वा विष्णुको कंक्रिट सामान, स्थानीय बजारमा प्रतिस्पर्धी मूल्यमा बिक्री हुन सक्दैनन्। बिचौलियाहरूले मूल्य नियन्त्रण गर्छन्, र आयातित सस्ता वस्तुहरूले स्थानीय उत्पादनलाई विस्थापित गर्छन्। विश्व बैंकको २०२५ को प्रतिवेदनअनुसार, नेपालको निर्यात न्यून छ, र निर्मा‍ण क्षेत्र दशकौँदेखि संकुचनमा छ। यस्तो अवस्थामा, स्थानीय उद्यमीहरूको उत्पादन गोदाममै थुप्रिन्छ, जसले आर्थिक र मनोवैज्ञानिक दबाब बढाउँछ। यसको दुई उदाहरण हामीले पढिसक्यौँ । 

नेपालको आर्थिक संरचनामा सुधार नभएसम्म यस्ता कथाहरू दोहोरिरहनेछन्। विश्व बैंकले सुझाएअनुसार, स्टार्टअप र साना उद्यमलाई टिकाउन बजार पहुँच, पूँजीको उपलब्धता, र नीतिगत स्थिरता सुनिश्चित गर्न जरुरी छ। सरकारले स्टार्टअप बोर्ड गठन र गर्ने र १ अर्बको स्टार्टअप फन्ड स्थापना गर्ने योजना बनाएको छ, तर यी योजनाहरू कागजमा मात्र सीमित नहोस् भन्ने अपेक्षा छ। नत्र, सुरेश र विष्णुजस्ता लाखौँ नेपाली युवाहरूको सपना परदेशको मरुभूमिमा पसिनासँगै बगिरहनेछ, र नेपालको गाउँहरू न्याउलीको रोदनले मात्र गुञ्जिरहनेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *