१२ पास गर्नुभयो ? मासिक दुई लाख तलबमा कोरियामा रोजगारी

जीविको २०८२ जेठ २० गते २१:०१

१२ पास गर्नुभयो ? मासिक दुई लाख तलबमा कोरियामा रोजगारीको अवसर खुलेको छ ।

यदी तपाईं १२ कक्षा सक्काएर बस्नुभएको छ र सीप सहित सुरक्षित रूपमा कोरिया रोजगारीका लागि जाने सोचमा हुनुहुन्छ भने, यो अवसर तपाईंका लागि उपयुक्त हुनसक्छ।

दक्षिण कोरियाले रुट इन्ड्रस्टी अन्तर्गत वेल्डिङ क्षेत्रमा कामदार लैजान आवेदन खुला गरेको छ । यो रोजगारीको अवसरमा आवेदन दिने हो भने तपाईंले यी ५ कुरा जान्नै पर्ने हुन्छ । 

१. कसले आवेदन दिन पाउँछन् ? आवश्यक मापदण्ड के हो ?

२. कमाई कति हुन्छ ? अनि कति वर्ष बस्न पाइन्छ ?

३. कस्ता सीप सिक्नुपर्छ ? अनि सीप कहाँ सिक्ने ?

४. खर्च कति लाग्छ ? 

५. आवेदन कहिलेसम्म दिन सकिन्छ ? माग सङ्ख्या कति छ ?

१. कसले आवेदन दिन पाउँछन् ? आवश्यक मापदण्ड के हो ?

कक्षा १२ उत्तीर्ण गरेको, उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, र कुनै देशमा जान प्रतिबन्ध नलागेका नेपाली नागरिकले यो रोजगारीको अवसरमा आवेदन दिन सक्नेछन् । 

२. कमाई कति हुन्छ ? अनि कति वर्ष बस्न पाइन्छ ?

कोरियामा न्यूनतम मासिक २ लाख रुपैयाँ आम्दानी हुन्छ । वेल्डिङ कामका लागि जाने कामदारले पनि न्यूनतम दुईलाख आम्दानी गर्न सक्छन् । यसमा काम गर्ने कम्पनी र ओभरटाइम हेरेर आम्दानी थप बढ्नसक्छ । इपिएस कोरिया कार्यालयका सूचना अधिकारी कमल श्रेष्ठका अनुसार कामदार प्रमाणिकरणको पत्र आइसकेपछि आम्दानीबारे जानकारी पाउन सकिन्छ । यसअघि पनि वेल्डिङ भिषामा कोरिया पुगेकाहरु २ लाख माथि आम्दानी गरिरहेका छन् । 

यसरी काममा जाने नेपालीहरु ४ वर्ष १० महिना वैधानिक रुपमा कोरिया बस्न पाउँछन् । 

 ३. कस्ता सीप सिक्नुपर्छ ? अनि सीप कहाँ सिक्ने ?

वेल्डिङ कामका लागि कोरिया जानलाई आवेदन दिएपछि तपाईंले अनिवार्य रुपन्देहीको बुटवलस्थित कोरिया–नेपाल बहुप्राविधिक शिक्षालयमा २४० घण्टाको तालिम लिनुपर्नेछ। तालिममा १२० घण्टा वेल्डिङ र १२० घण्टा कोरियन भाषा समावेश हुनेछ।

भाषा तालिमका ७५ घण्टा अनिवार्य रूपमा उपस्थित भएर परीक्षा दिनुपर्नेछ भने बाँकी ४५ घण्टा पूर्व-अभिमुखीकरण तालिमको क्रममा पूरा गर्नुपर्नेछ।

४. खर्च कति लाग्छ ? 

यसरी कोरिया जानका लागि सीप सिक्न बाहेक अन्य ठूलो शुल्क लाग्दैन । परीक्षाका लागि आवेदन शुल्क २८ डलर अर्थात् नेपाली ३७ सय रुपैयाँ लाग्छ । 

५. आवेदन कहिलेसम्म दिन पाइन्छ ? मागसङ्ख्या कति छ ?

वेल्डिङ भिसामा कोरिया जानका लागि आउँदो जेठ २० गतेदेखि २३ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन epsnepal.gov.np  मा गएर दिन सकिनेछ । यो वर्ष वेल्डिङ भिसामा कोरियाले जम्मा ५० जना नेपाली कामदार लैजाने छ । यसअघि कोरियाले २०२३ मा ५० साथै २०२४ मा ३० जना कामदार वेल्डिङ कामका लागि कोरिया लगेको छ । 

थप जानकारीका लागि कहाँ सम्पर्क गर्ने ?

आवेदन दिनका लागि कुनै कठिनाई भए इपिएस कोरिया शाखाको सम्पर्क नम्बर ०१५१८६३४९, वा ०१५१८६३५० मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *