एसईई सकेका ३ हजार बढीलाई निःशुल्क छात्रवृतिको अवसर

जीविको २०८२ असार २५ गते ९:२०

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) ले शैक्षिक सत्र २०८२/०८३ का लागि प्रि-डिप्लोमा र डिप्लोमा तहमा छात्रवृत्तिको लागि आवेदन खुला गरेको छ। परिषद्ले आइतबार सूचना प्रकाशित गर्दै इच्छुक विद्यार्थीहरूले असार २३ गते सोमबारदेखि साउन ११ गते राति ११:५९ बजेसम्म अनलाइन आवेदन दिन सक्ने जनाएको हो।

छात्रवृत्तिमा आवेदन दिनका लागि परिषद्ले छुट्टै अनलाइन आवेदन लिङ्क https://itms.ctevt.org.np:5580/entrance/login सार्वजनिक गरेको छ। विद्यार्थीहरूले उक्त लिङ्कमा गई लगइन गरी फारम भरेर आवश्यक कागजातहरू अपलोड गर्नुपर्नेछ।

प्रि-डिप्लोमा तहमा कृषि, पशुपालन, भेटेरिनरी, सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, अटोमोबाइल, कम्प्युटर, वाटर सप्लाई, सर्भे लगायत १८ वटा कार्यक्रम समेटिएको छ। यी कार्यक्रमहरूमा १,२१५ जना विद्यार्थीका लागि छात्रवृत्ति कोटा तय गरिएको छ।

त्यसैगरी, डिप्लोमा तहमा सिभिल, मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, जिओमेटिक्स, मेकाट्रोनिक्स, आर्किटेक्चरलगायत २२ शैक्षिक कार्यक्रमका लागि २,१६५ कोटा छुट्याइएको छ। स्वास्थ्य समूहका डिप्लोमा कार्यक्रमहरूको छात्रवृत्तिको आवेदन भने छुट्टै मिति र प्रक्रियाबाट खुला गरिने जनाइएको छ।

छात्रवृत्तिका लागि प्रि-डिप्लोमा तहमा रु ५०० र डिप्लोमा तहमा रु १,००० आवेदन शुल्क लाग्नेछ। एक विद्यार्थीले एकपटकमा एउटै शैक्षिक कार्यक्रमका लागि मात्र आवेदन दिन सक्ने व्यवस्था छ।

छात्रवृत्तिमा परेका विद्यार्थीहरूबाट सम्बन्धित शिक्षण संस्थाले प्रशिक्षण, प्रयोगात्मक, रजिस्ट्रेसन, नियमित परीक्षा आवेदन, पुस्तकालय तथा प्रयोगात्मक स्थलसम्मको यातायात खर्च लिन पाउने छैनन्। तर खाना, बास, पोशाक र व्यक्तिगत स्टेशनरी खर्च भने विद्यार्थी आफैंले बेहोर्नुपर्नेछ।

छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीले अध्ययन पूरा गरेपछि नेपाल सरकारले तोकेको स्थानमा सेवा गर्नुपर्ने सर्त पनि लागू गरिएको छ।

यस छात्रवृत्ति योजनामा समावेशी समूहका लागि विशेष कोटाको व्यवस्था गरिएको छ। महिला, दलित, जनजाति, मधेसी, अपांगता भएका, पछाडि परेका वर्ग र सुदूर/दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई लक्षित गर्दै विभाजन गरिएको कोटामा प्रतिस्पर्धा गर्न सकिनेछ।

परिषद्ले समयमै आवेदन दिन, कागजातहरू तयार पार्न र तोकिएको लिङ्कबाट आवेदन फारम बुझाउन सम्पूर्ण विद्यार्थीहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *