अनिलको माटो प्रेम: इञ्जिनियरिङ छोडेर स्मार्ट कृषि

प्रतिक ढकाल २०८२ असार ११ गते १०:१८

उनका साथीहरू अष्ट्रेलियामा काम गर्दै गर्दै सेल्फी खिचिरहेका थिए, त्यही बेला उनी नाङ्गो हातले माटो चलाउँदै थिए।
साथीहरूले बोलाउँथे  “आऊ अष्ट्रेलिया,” उनी भने माटोमै खुशी खोज्न थाले।

काठमाडौंको भीमसेनगोलाको गल्लीमा बिहानैदेखि हलचल सुरु हुन्छ—टेम्पोहरूको आवाज, पसलेले खोल्ने सटरको आवाज। त्यही भिडमा  बिहान ५ बजे नै एउटा पसल खुलिसकेको हुन्छ। प्लास्टिकका क्रेटमा सजिएका हरिया सागसब्जी, ताजा फलफूल, अनि कुनामा खुकुरीले काटिएका काँक्रा हेर्दा सामान्य लाग्न सक्छ। तर यो पसल ‘सामान्य’ होइन। पसलको नाम हो स्मार्ट कृषि फ्रेश, अनि यसलाई चलाउने मान्छे हुन्—अनिल रेग्मी।

अनिल ती युवक हुन् जसले आइटी पढ्दा पढ्दै माटोसँग प्रेम बसाए। उनी तीमध्ये परे, जो जागिरको सपनाभन्दा ठूलो सपना बोकेर कृषिमा लागे । सहरको पिचको बाटो छाडेर, धुलो र गोबरले गन्हाउने पाखा चहार्न थाले जहाँ ससाना किसानहरू पाखुरीको बलले जिन्दगी उमारिरहेका छन्।

सन् २०१५ मा उनी इञ्जिनियरिङ पढ्दै थिए कोठाभित्र बसेर ल्यापटपसँग कुरा गर्ने, गणित हल गर्ने, प्रोजेक्ट बुझाउने। त्यही बेला एउटा आइडियाले उनलाई भित्रैदेखि झक्झक्याइरहेको थियो—“किन प्रविधिलाई खेतीसँग जोड्दैनौं?”

कलेजको एक प्रोजेक्ट थियो—मोबाइल एप।  कृषकका समस्या बुझ्ने र समाधान दिने उद्देश्यले बनाइएको एप। सुरुमा साथीहरूलाई उनको योजना गम्भीर लागेन, तर अनिल टुटेनन्।
उनी भन्छन्, “सबैले भने यो त ग्रेड लिने प्रोजेक्ट मात्र हो। तर मलाई लाग्थ्यो, यही ग्रेडले मेरो जीवन बदल्नेछ।”

पढाइ सकियो। साथीहरू कोही अष्ट्रेलिया, कोही अमेरिका ताक्न थाले, कोही सरकारी वा प्राइभेट जागिरतिर लागे। तर अनिल भने फर्किए आफ्नै डिजिटल टुलसहित काभ्रे, नुवाकोट, धादिङ, धनकुटा…

हातमा झोला, गोडामा हिलाम्मे जुत्ता, मुखमा मुस्कान। डाँडाकाँडा, भेलको किनार हुँदै उनी किसानहरूसँग पुग्थे। उन्नत बीउ छनोटदेखि मलमूत्र व्यवस्थापन र बिक्री रणनीतिसम्म  सिकाउँथे ।

एक समय आयो, जब अनिल पनि अलमलिन थाले। साथीहरू विदेशिएका थिए। फेसबुकमा पोस्ट हुन्थे—“आजको कफी अष्ट्रेलियामा”, “सिड्नीको बिहान”, “गोल्ड कोस्टको समुद्र किनार”। त्यही बेला नेपालमा कोभिडले थला अर्थतन्त्र धरायसी थियो । 

एकपटक उनले पनि सबै कागज तयार गरे—IELTS दिए, कन्सलटेन्सी पुगे, डकुमेन्ट तयार पारे। तर अन्तिम क्षणमा मनले प्रश्न गर्‍यो—“यहाँ म केही गरिरहेको छु, त्यहाँ फेरि शून्यबाट सुरु गर्नुपर्छ?”

हेर्नुहोस् : कोडिङ छाडेर कृषिमा जमेका अनिलको भिडियो कथा 

उनी भन्छन्, “अष्ट्रेलियामा अरुको काम गरेर  पैसा कमाइन्छ होला। यहाँ म आफैं केही सिर्जना गरिरहेछु। त्यहाँ अरूकै सपना बोक्नुपर्छ, यहाँ आफ्नै सपना कोर्न पाइन्छ।”

त्यसै दिन उनले निर्णय गरे—“म यहीँ गर्छु।”

आज उनको पसल भीमसेनगोलामा छ। धादिङका मलिलो खेत, काभ्रेका टाकुरा, नुवाकोटका बारी र धनकुटाका हरिया झ्याङबाट सागसब्जी पसलसम्म आइपुग्छन्। अनिल आफैं बिहान ४ बजे किसानलाई फोन गर्छन्—“दाइ, बोडी ‍फल्यो ? कति तयार छ?” कतिले पसलमै सामान झार्छन्, कतै उनी आफैँ पुग्छन्।

उनी कुनै एउटै फार्ममा भर पर्नु हुँदैन भन्नेमा विश्वास गर्छन्। उनको सोच छ—“कसरी धेरै किसानलाई सँगै जोडेर समावेशी कृषि प्रणाली बनाउने?”

यो पसल ‘फ्रेस स्टोर’ मात्र होइन, नेपाली उत्पादनमा विश्वास गर्ने आन्दोलनको थलो हो।

अनिल पुराना किसान होइनन्। उनी आधुनिक छन्, शिक्षित छन्, तर माटोको सुगन्धप्रति रोमाञ्चित हुने भावनासँगै बाँचेका छन्।
उनी भन्छन्, “अचेलका युवालाई गोबर छो भन्नुभयो भने लजाउँछन्। तर त्यही गोबर मिलाएर मल बनाउँदा पैसा आउँछ भन्ने बुझ्दैनन्। माटोमा हात राख्न लाज मान्छन्, तर त्यही माटोले नै घर बनाउँछ भन्ने सोच्दैनन्।”

हेर्नुहोस् : कोडिङ छाडेर कृषिमा जमेका अनिलको भिडियो कथा 

“कसैले भन्लान्—कस्तो इञ्जिनियर! न त अफिसको AC, न त कर्पोरेट तलब। खेतको गन्धमा रमाउँछ!”
उनी भन्छन्, “काम भनेको मान्छेलाई अर्थ दिने माध्यम हो। पैसा कमाउने हो भने चोरी पनि कमाइ हो। मलाई चाहिएको चाहिँ आत्मगौरव हो।”

अनिल आफूलाई “एग्रिकल्चर एक्सपर्ट” भन्ने शब्द मन पराउँदैनन्। उनी भन्छन्, “म प्रशिक्षक होइन, सिक्ने मान्छे हुँ। किसानसँग बसेर सिकिन्छ, किताब पढेर होइन।”

उनी किसानको उब्जनी लिन्छन्, तर सस्तोमा किन्न खोज्दैनन्। बरु राम्रो मूल्य दिन्छन्, बजारको पहुँच दिलाउँछन्।

धेरै ठाउँमा उनी किसानका बारीमा पुग्छन्। छोरा विदेशिएका, बुहारी काममा व्यस्त। एक आमाले भनेकी थिइन्—“छोराले पठाएको डलर बैंकमा हुन्छ, अनिलले दिएको पैसा भने सिधै हातमा आउँछ।”

अनिलको योजना अझ ठूलो छ। आज उनले माटो छुँदा लाज नमान्ने आँट देखाएका छन्। त्यही आँटले सयौं किसानमा विश्वास भरिरहेका छन्।

सहरको भीडमा हराइरहेका हामीमध्ये कतिपयले माटोको सुगन्ध बिर्सिसकेका छौं। तर अनिलजस्ता केहीले त्यो सुगन्ध सम्झिरहेका छन्—र सम्झाइरहेका छन्।

“यो माटो हाम्रो हो,” उनी भन्छन्, “यसलाई छोएनौं भने, भविष्य नै कसरी उमार्ने?”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *