
बम र बंकरबीच बाँचेको आशा: इजरायलमा नेपालीहरूको कथा
मध्यपूर्वको आकाश फेरि द्धन्द्धको छाँया परेको छ । इजरायल र इरानबीचको सैन्य तनावले केवल दुई राष्ट्रको सीमालाई मात्र होइन, सम्पूर्ण क्षेत्रलाई भय, अनिश्चितता र मानवीय संकटको भुमरीमा तान्दैछ। आकाशमा मिसाइलहरूको गर्जन, भूमिमा बम विस्फोटको कम्पन, र साइरनहरूको आवाजले काम खोज्दै, श्रम बेच्दै बसेका हजारौँ नेपालीहरु बङ्करमा लुक्दै युद्ध सकियोस् भन्ने कामना गर्दैछन् ।
नेपाल सरकार परराष्ट्र मन्त्रालयका अनुसार, इजरायलमा करिब ५,५०० नेपालीहरू काम गर्छन्, अधिकांश केयरगिभर। केही विद्यार्थी पनि इजरायलमा अध्ययनका लागि गएका छन्। तर सन् २०२३ अक्टोबर ७ बाट सुरु भएको पछिल्लो तनावपछि धेरै नेपालीहरू फर्किए। यद्यपि, त्यतिबेला हमास समूहको अपहरणमा परेका विपिन जोशीको अवस्था भने अझै अज्ञात छ।
इलामकी सरिता सुनुवार २०७९ सालमा इजरायल गएकी हुन्। अहिले उनी हदेरा सहरमा बस्छिन्। उनका लागि ‘बंकर’ शब्द नयाँ होइन, तर हालका दिनमा त्यो जीवनको एउटै नियमित आकस्मिकता जस्तो भएको छ।
“यहाँ माथि नै बम पड्काइन्छ, हावामै मिसाइल उडेको आवाज आउँछ, हामी सुनिरहेका हुन्छौं,” उनले फोनमार्फत भनिन्, “साइरन बज्नासाथ दौडिनुपर्छ, के काम गर्दै थियौं, के खाँदै थियौं, सबै छोडेर।”
सुन्नुहोस्, इजरायलमा रहेकी सरितासँग जीविकोले गरेको कुराकानी : link
जीविकोसँग कुराकानी हुँदा उनी करिब आधा घण्टा अघिमात्र बंकरबाट फर्किएकी थिइन्। डर त छ नै, तर फर्कनेबारे सोच्न सक्ने मानसिक स्थिति छैन। “फर्किनै पर्ने भयो भने देशले उद्धार गरिदियोस्। अहिल्यै फर्किन्छु भन्ने हैन, धेरै संघर्ष गरेर आएकी छु।”
रामेछापकी संगिता बरदेबा बिरशेवा सहरमा बस्छिन्। उनी भन्छिन्, “कहिले हवाई आक्रमण भयो भनेर खबर आउँछ, कहिले ड्रोन देखा पर्छ। हामी त अझै बम खसेको छैन भन्नु पर्यो, तर मन आत्तिन्छ। बंकरमा लामो समय बस्न पनि सकिन्न, तर नजाने पनि सकिन्न।”
इजरायलका धेरै सहरहरू : हाइफा, आशदोड, रिषोन इलियन—यतिबेला त्रासका केन्द्र बनेका छन्। साइरन, बंकर र भित्तामा टाँसिएका सुरक्षा निर्देशिकाहरू नै नेपालीहरूको दैनिकी बनेका छन्।
यस्तो अवस्थामा पनि नेपाली सरकार अझैसम्म ‘सतर्कता’ भन्ने शब्द दोहोराइरहेको छ। परराष्ट्र मन्त्रालयले इजरायल र दोहास्थित नेपाली दूतावाससँग सम्पर्कमा रहेको बताइए पनि, ठोस राहत कोष, उद्धार तालिका वा वैकल्पिक बसोबासबारे कुनै स्पष्ट खाका सार्वजनिक भएको छैन।
तेल अभिभस्थित नेपाली दूतावासले भनेको छ, “हामी सम्पर्कमा छौं, तर उद्धारको अवस्था आउनुअघि कूटनीतिक संवाद प्राथमिक हो।” तर पोल्यान्ड, बेलायतजस्ता देशहरूले आफ्ना नागरिकलाई बस, हेलिकप्टर वा उडानमार्फत उद्धार गरिरहेका बेला नेपाल सरकारको मौनताले नेपालीहरुलाई निराश बनाएको छ ।
भारतले इरानमा रहेका आफ्ना १० हजार नागरिकालाई सार्ने क्रम सुरुवात गरिसकेको छ । रिपोर्ट अनुसार उनीहरूमध्ये १ सय विद्यार्थीलाई आर्मेनियाको सीमानजिक पुर्याइसकिएको छ।
उद्धारको आश्वासन पाउन नसकेपछि इजरायलमा रहेका नेपालीहरू आफैं मिलेर व्यक्तिगत भाइबर ग्रुप, सन्देश सञ्जाल, र बंकर लोकेशन सेयर गर्ने डिजिटल टुल्सको भरमा बसेका छन्। केहीले त Guardian Angel App नामक मोबाइल एप प्रयोग गरेर नजिकको बंकर र सुरक्षित स्थानको जानकारी लिन थालेका छन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकाल भन्छन्, “हामी सतर्क छौं, घटनाक्रमको विकाससँगै उपयुक्त कदम चाल्ने योजनामा छौं।”
उनका अनुसार सरकारले इजरायलस्थित नेपाली दूतावासमा २४ घण्टा सम्पर्क गर्न सकिने व्यवस्था मिलाएको छ। तर नागरिक उद्धारको सन्दर्भमा भने हालसम्म ठोस कदम नचालिएको उनले बताए।
उनले थपे, “त्यहाँ सरकारले पालना गर्नु भनेको नियम सबैले पालना गर्न अनुरोध गरेका छौं। परिस्थिति हेरेर दूतावासमा समेत सम्पर्क गर्न सकिने छ।”
इजरायलमा रहेका नेपालीहरूले निम्न ठेगानामा सम्पर्क गर्ने सरकारले बताएको छ ।
- तेल अभिव: +972-52-3360548 / [email protected]
- दोहा: +974-44670450 / [email protected]
