
१९ वर्षीय युवाको आत्मविश्वास: मूर्ख भन्नुस् या आँटिलो उद्यम त देशमै गर्ने हो

आउनुहोस् एउटा कथा सुरु गरौँ, यसलाई तपाईं ‘हिम्मतको’ कथा भन्न पनि सक्नुहुन्छ या ‘मूर्खताको’ कथा ।
किनभने जसले यी कथाका पात्रहरूलाई भेटेका छन् उनीहरूले ‘क्या बात’ पनि भनेका छन् अनि केहीले ‘वाहियात’ को ट्याग पनि लगाइदिएका छन् ।
जब एउटा युवाले देशमै बसेर केही गर्न खोज्छ, चाहे एउटा सानो उद्यम व्यवसाय नै किन नहोस्, एउटा नयाँ आइडिया, एउटा आफ्नै सपनाको सुरुवात गर्ने प्रयास गर्छ त्यतिबेला परिवार, साथीदेखि छरछिमेकले उसलाई प्रेरणा दिनुको साटो शंका र प्रश्नहरूले तर्साउने गर्छन्, ” लोकसेवा गरेर सरकारी जागिर खानु नि!”, “देशमा के हुन्छ र?”, “सके युरोप छिर्नु नसके दुबई कतार भए पनि गइहाल्नु”
अनि सुरू हुन्छ आलोचना, साथीहरू पनि उद्यम होइन, विदेशकै सपना बाँड्छन्। ऋण लिनलाई बैंकले धितो खोज्छ, सरकार उद्यमीलाई योजना मात्र देखाउँछ, सहयोग चाहिँ प्रक्रियामा हराउँछ। यस्तै उकुसमुकस अवस्थाले युवालाई बिदेसिने लाइनतिर धकेल्छ।
खैर, कथामै फर्किउँ । कथामा छन् भर्खर युवावस्थामा टेक्दै गरेका १९ वर्षीय धीरज चापागाईं । झापाका धिरजलाई गाउँको घ्यू , मह अनि गेडागुडी खान असाध्यै रहर लाग्ने तर काठमाडौँमा ‘शुद्द अर्गानिक’ कहलाउने मार्टमा पनि रैथाने स्वाद नभेटेपछि आफैले भोगेको समस्यालाई उद्यम आइडिया बनाए । यो आइडिया उनले चितवनका साथी आशिष गैरे (१९) लाई सुनाउँदै भने, ‘ गाउँ घरका खानेकुरा सहरमा ल्याउनु पर्यो, उपभोक्ता र गाउँले किसानलाई सोझै जोड्नु पर्यो तर बिचौलियाहरू बिना नै”
धीरजको प्रस्तावमा आशिष सहमत भए । अनि सुरु भयो, किसानदेखि किचनसम्म पुर्याउने अभियान ‘दैलो कृषि’
धीरज भन्छन्, “हामी किसानलाई चिनाउन चाहन्छौँ, उनीहरूको उत्पादनलाई पहिचान दिन चाहन्छौँ। कृषि एउटा गरिबीको प्रतीक होइन, सम्मान र सम्भावनाको क्षेत्र हो भन्ने देखाउन चाहन्छौँ”

नेपालको कृषि बजार विडम्बनापूर्ण छ; किसानले उचित मूल्य पाउँदैनन्, उपभोक्ताले गुणस्तरीय वस्तु पाउँदैनन्। यसको लाभ लिने वर्गमा सधैँ बिचौलिया नै हावी हुँदै आएको छ । यो समस्यालाई सानै प्रयासबाट भएपनि हल खोज्दै छन् यी दुई नव युवा ।
‘दैलो कृषि’ ले परम्परागत कृषि बजारलाई डिजिटल रूप दिन खोजेको छ। विभिन्न जिल्लामा किसाले उत्पादन गरेका मह, बेसार, गेडागुडि दाल, सातु जस्ता उत्पादनहरू उनीहरूले सहकारीहरूबाट संकलन गर्छन्, प्याकेजिङ गर्छन्, र क्यूआर कोडसहित उपभोक्तासम्म पुर्याउँछन्।
क्यूआर स्क्यान गरेपछि ग्राहकले जान्न सक्छन् यो सामान कहाँ उत्पादन भयो, कसले उत्पादन गर्यो, कुन मौसममा फल्यो, र यसको गुणस्तर परीक्षणको विवरण के छ। यी सर-सामान बेच्न मात्र होइन उपभोक्तामा पारदर्शिता र विश्वसनीयता कायम गराउन पनि प्रविधिको प्रयोग गर्दैछन् धीरज र आशिष ।

धीरज र आशिषले गरेको यो प्रयास उद्यम मात्र होइन, अभियान पनि हो । वास्तवमै ‘दैलो कृषि’ कम्पनी मात्र होइन, यो ग्रामीण महिलाहरूको श्रम र पसिनालाई मूल्य दिने अभियान हो। ‘दैलो कृषि’ संचालन गर्नुपूर्व उनीहरूले १ वर्ष तयारी गरे, फलस्वरूप अहिले यो प्लेटफर्मले संचालन भएको ३ महिनामा नै नेपालभरका २० भन्दा बढी सहकारीसँग सहकार्य गर्दै करिब २ हजार किसानलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडेको छ। काठमाडौंको चहलपहलभित्र बसेर उनीहरूले ग्रामिण उत्पादनलाई ब्रान्ड बनाउने मात्र होइन, ग्रामिण कथा पनि सुनाउने काम गरिरहेका छन्। उनीहरूको सोशल मिडियामा किसानहरूले आफ्नो कथा सुनाउँदै गरेको पनि देख्न सक्छौं।
सम्भावना खोज्न अनवरत लागिरहने यी युवाहरु आफ्नो स्टार्ट-अप दैलो कृषिमार्फत आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडको ‘डिजिटल इनोभेसन इन एग्रिकल्चर एन्ड लजिस्टिक्स (DIAL)’ एक्सिलेरेटर कार्यक्रममा छनोट पनि भएकाछन् । यो अवसरले उनीहरूलाई स्टार्टअपलाई कसरी व्यावसायिक रुपमा संचालन गर्ने, त्यसका व्यवस्थापनका पक्षहरू र डिजिटल मार्केटिङको बारेमा विषेश ज्ञान हासिल गरेको छ।
विभिन्न क्षेत्रका विज्ञहरूसँग प्रत्यक्ष सम्बन्ध र व्यावसायिक मार्गदर्शन पाउने अवसर पनि यही कार्यक्रमबाट प्राप्त भएको धीरज सुनाउँछन् ।
चिया पसलदेखि एयरपोर्टसम्म सदनदेखि सडकसम्म धेरै सुनिने कुरा; देशमा केही हुँदैन, सिस्टम छैन, पैसा छैन, यहाँ अवसर नै छैन ।
धीरज भन्छन्, “यहाँ समस्या नै समस्या छन् यसले एउटा उद्यमीलाई आइडिया दिन्छ, मैले पनि आफैले भोगेको समस्यालाई उद्यम आइडिया बनाएको हो ”
हजारौं उद्यम आइडिया सुरु गर्नेहरू सफलता पाउन नसकेर विदेशिन पनि बाध्य छन्, धीरज भने आफ्नो उमेर भर्खर १९ वर्ष भएकाले आफूसँग सिक्ने उमेर धेरै भएको बताउँछन् ।
विश्वासका साथ धीरज भन्छन्, “उद्यम त देशभित्रै गर्ने हो, केहि वर्ष सिकिन्छ त्यसपछि पक्कै टिकिन्छ”
