
प्लस टु पछि पढ्न सकिन्छ यी विषय : छोटो अवधीको पढाई, पढाई लगतै राम्रै कमाई

अहिले नेपालभर ५ लाख १० हजारभन्दा बढी विद्यार्थी कक्षा १२ को वार्षिक परीक्षा दिएर रिजल्टको प्रतीक्षामा छन्। युवाहरूका लागि यो केवल शैक्षिक परीक्षा मात्र होइन, जीवनको नयाँ अध्याय सुरु गर्ने महत्वपूर्ण मोड पनि हो। १२ सक्किएपछि अभिभावक अनि विद्यार्थी दुबैलाई सताउने प्रश्न – अब के गर्ने? धेरै अभिभावक र विद्यार्थीहरूको पहिलो रोजाइ अझै पनि इन्जिनियरिङ, मेडिकल, बीबीएस वा बीबीएजस्ता परम्परागत बाटाहरू हुने गर्छ। मानौं, करिअरका सम्भावनाहरू यिनै सीमित विकल्पमा अडिन्छन्। तर डिजिटल युगको तीव्र गति, बदलिँदो विश्वव्यवस्था र समाजका आवश्यकताहरूले यस्ता सयौँ नयाँ बाटाहरू खोलिदिएका छन्, जुन परम्परागत भीडबाट अलग छन्। र, यही भिन्नताले नै भविष्य निर्माण गर्छ अनि करियर सहजै बनाउँन सकिन्छ ।
यस्ता कोर्सहरू पनि छन् जसबाट छोटो समयमै राम्रो कमाइ गर्न सकिन्छ, अवसर देशभित्रै पनि प्रसस्तै छन् र विदेशमा पनि । यी कोर्सहरु पढेर डाक्टर वा इन्जिनियरको भन्दा पनि राम्रो कमाइ गर्न सकिन्छ, त्यो पनि नेपालमै बसेर।
यी विषय पढाईदेखि कमाईसम्मको छोटो बाटो हुनसक्छ:
सिनेमेटोग्राफी: क्यामेराको कमाल, कमाइ बबाल
दाङ, घोराहीकी दुर्गा सिंहले प्लस टु सकेपछि परम्परागत बाटो छाडेर एक वर्षे डिप्लोमा इन सिनेमेटोग्राफी रोजिन्। काठमाडौंको एभरेष्ट फिल्म स्कूलमा यो कोर्स गर्दा उनले क्यामेराको लेन्सबाट संसार हेर्ने कला सिकिन्। भिडियो सम्पादनदेखि कथालाई दृश्यमा उतार्ने सीपसम्म उनले आफूलाई अब्बल बनाइन्। यो कोर्सका लागि १ लाख ९० हजार खर्च गरिन्, तर यो लगानीले उनलाई बेरोजगार बस्नु परेन। पढाइ सकिनासाथ उनले अनकोर मिडिया एजेन्सीमा काम पाइन्, जहाँ उनको रचनात्मक यात्राले गति लियो। “क्यामेरा चलाएरै सीप विकास गर्ने र कमाइ पनि सुरुवातबाटै राम्रो हुने अवसर पाएँ मैले,” दुर्गा भन्छिन्। सिनेमेटोग्राफीको यो बाटोले उनलाई भीडबाट अलग्गै पहिचान दियो, र आज उनी आफ्नो सपनालाई क्यामेरामार्फत जीवन्त बनाइरहेकी छन्। यो कोर्स गरेपछि तत्काल रोजगारी पाइने अनि बेरोजगार चाहिँ बस्न नपर्ने उनको बुझाई छ ।
उनी भन्छिन्, “१२ सक्काउनुभयो भने यो कोर्स पढे हुन्छ, विदेश जानका लागि आत्तिहाल्न चाहिँ पर्दैन”
काठमाडौंको ओस्कर कलेज, एभरेष्ट फिल्म स्कुल, कान्तिपुर फिल्म एकेडेमी लगायतमा यो कोर्स पढाई हुन्छ । डिप्लोमा कोर्स एभेरेष्ट कलेज र कान्तिपुर फिल्म एकडेमीमा हुन्छ भने ब्याचलर नै गर्न मन भए ओस्कर कलेजले यो कोर्स पढाउँछ ।
डिजिटल आर्ट्स र एनिमेसन
यदि तपाईं चित्र बनाउन, पात्रहरू कल्पना गर्न, वा भिडियो गेमको संसारमा हराउन मन पराउनुहुन्छ भने — डिजिटल आर्ट्स र एनिमेसन तपाईंको लागि उपयुक्त क्षेत्र हो। यहाँ तपाईंले कम्प्युटरमार्फत एनिमेसन सिर्जना गर्ने, 3D मोडलिङ, भिजुअल इफेक्ट्स (VFX) र गेम डिजाइनजस्ता सीप सिक्नुहुन्छ। नेपालमै सिम्रिक कलेज वा प्रेसिडेन्सियल बिजनेस स्कूल जस्ता संस्थानमा यस्तो कोर्स पाउन सकिन्छ। विदेशमा भारत वा अस्ट्रेलियाले अझ राम्रो एक्सपोजर दिन सक्छ। यो क्षेत्रको माग बलिउडदेखि हलिउड, एड एजेन्सीदेखि मोबाइल गेम कम्पनीसम्म फैलिएको छ। कल्पना र कम्प्युटरको संयोजनले तपाईंलाई भीडभन्दा अलग बनाउँछ।
खेलकुद व्यवस्थापन
के तपाईंलाई खेल हेर्न मात्र होइन, त्यसको संगठन, प्रबन्ध र प्रवर्द्धनमा पनि चासो छ? खेलकुद व्यवस्थापन एउटा यस्तो क्षेत्र हो, जहाँ खेलाडी नभए पनि तपाईं ‘पिच’मा ठूलो भूमिका खेल्न सक्नुहुन्छ। गण्डकी विश्वविद्यालयले हालै स्पोर्ट्स म्यानेजमेन्टमा डिग्री सुरु गरेको छ, जुन नेपालमा नयाँ पहल हो। कोर्सले तपाईंलाई इभेन्ट म्यानेजमेन्ट, खेल बजेटिङ, खेलकुदको ब्रान्डिङ र प्रायोजनका बारेमा तालिम दिन्छ। भविष्यमा क्रिकेट लिग, ओलम्पिक आयोजन, वा फिटनेस कम्पनीहरूको नेतृत्व तपाईं गर्न सक्नुहुन्छ।
सांस्कृतिक र बौद्ध अध्ययन
नेपालको मौलिक सांस्कृतिक सम्पदा र बौद्ध दर्शनमा चासो छ भने, यो क्षेत्र मात्र अध्ययन होइन, ध्यान र आत्म-अन्वेषणको यात्रा पनि हो। काठमाडौं विश्वविद्यालयमा बीए बुद्धिस्ट स्टडिज पढ्न सकिन्छ, जुन दर्शन, इतिहास र सामाजिक अध्ययनको मिलन बिन्दु हो। भविष्यमा म्युजियम क्युरेटर, सांस्कृतिक पर्यटन गाइड, वा अन्तर्राष्ट्रिय संस्थामा अनुसन्धानकर्ताको भूमिका निभाउन सकिन्छ।
फेसन र इन्टेरियर डिजाइन
यदि तपाईंको सोच रचनात्मक छ भने, फेसन वा इन्टेरियर डिजाइनमार्फत तपाईं अरूको जीवनमा सौन्दर्य थप्न सक्नुहुन्छ। यो कोर्सले कपडाको रचना, डिजाइन सिद्धान्त, रङको मनोविज्ञान, र स्थानको संरचना मिलाउने कला सिकाउँछ। पूर्वाञ्चल विश्वविद्यालय र विदेशका डिजाइन स्कूलहरूमा उपलब्ध छ। स्वरोजगारका लागि अत्यन्त उपयुक्त, यो कोर्सले तपाईंलाई आफ्नै फेसन हाउस वा डिजाइन कन्सल्टेन्सी सुरु गर्ने प्रेरणा दिन सक्छ।
पर्यावरण विज्ञान र दिगो विकास
ललितपुर, पाटनकी २४ वर्षीया प्रतिमा खड्गीले प्लस टु सकेपछि वातावरण विज्ञानलाई आफ्नो करिअरको आधार बनाइन्। सानैदेखि वातावरणप्रतिको रुचिले उनलाई यो क्षेत्रतर्फ तान्यो। त्रिभुवन विश्वविद्यालयबाट बीएससी इन्भारोन्मेन्टल साइन्स पढ्दा उनले पढाइसँगै विभिन्न संस्थाका कार्यक्रम र वर्कसपहरूमा सहभागिता जनाइन्, जसले उनको सीप र आत्मविश्वास बढायो। ब्याचलर सकिनासाथ उनले जागिर पाइन् र खाली बस्नुपरेन। “वातावरण विज्ञानको पढाइले मलाई संरक्षणको क्षेत्रमा करिअर बनाउने बलियो आधार दियोमलाई, विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय संस्थाहरुले वातावरण र दिगो विकासलाई प्रवर्द्वन गर्छन् करियर बनाउन चहानेलाई थुप्रै सम्भावना छ,,” प्रतिमा भन्छिन्। नेपालमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले बीएससी इन्भारोन्मेन्टल साइन्स र सस्टेनेबल डेभलपमेन्टका कोर्सहरू सञ्चालन गर्छन्। यो पढाइले जलवायु परिवर्तन, जैविक विविधता संरक्षण, र कार्बन फुटप्रिन्ट न्यूनीकरणजस्ता विषयमा दक्ष बनाउँछ। भविष्यमा यस्ता विद्यार्थीहरूले युएन, वातावरण मन्त्रालय, वा हिमाली क्षेत्रका संरक्षण परियोजनाहरूमा काम गर्ने अवसर पाउँछन्।
बारटेन्डिङमै छ हज्जारौँको कमाई
दुबई, सिंगापुर, कतारजस्ता ठाउँमा अनुभवी बारटेन्डरको तलब महिनाको १ हजारदेखि २ हजार डलरसम्म पुग्छ। क्रुज शिपमा काम गर्यो भने तलब मात्रै हैन, टिप्स र सेवा शुल्क समेत जोड्दा महिनामा २,५०० डलरभन्दा बढी पनि सम्भव हुन्छ। नेपाली रुपैयाँमा हिसाब गर्दा महिनाको ३ लाखभन्दा बढी आम्दानी हुन्छ ।
काठमाडौं, पोखरा, चितवनजस्ता सहरमा, साना र ठूला होटल, रेस्टुरेन्ट र बारहरूमा काम पाइन्छ। दक्षता अनुसार २० हजारदेखि ५० हजार रुपैयाँसम्म कमाइ हुन सक्छ। पार्टी इभेन्टहरूमा काम गर्दा थप आम्दानीको अवसर पनि हुन्छ। ३ महिनादेखि ६ महिनासम्मको व्यावसायिक तालिम काठमाडौं, पोखरा, धरान, चितवन लगायतका ठाउँमा पाइन्छ। खर्च पनि धेरै हुँदैन १५–२५ हजार रुपैयाँमै राम्रो तालिम लिन सकिन्छ।
NATHM काठमाडौं , काठमाडौं टेक्निकल स्कुल, पोखरा क्याटरिङ एन्ड बारटेन्डिङ, ट्रेनिङ सेन्टर धरान हस्पिटालिटी ट्रेनिङ सेन्टर, चितवन होटेल म्यानेजमेन्ट इन्स्टिच्युट जस्ता थुप्रै संस्थाहरुले बारटेन्डिङ सिकाउँछन् ।
डेटा साइन्स र आर्टिफिसियल इन्टेलिजेन्स (एआई)
झापाका रोहन पोख्रेलले १२ कक्षा सक्काएपछि काठमाडौंमा कम्प्यूटर साइन्स पढे । ब्याचलर सक्काएपछि समय फेरियो माग एआईको भयो । उनी अहिले कोर्सएरा बाट एआई कोर्स लिँदैछन् । विदेशका कम्पनीहरुको फ्रिल्यान्स काम गर्छन् ।
उनी भन्छन्, “विश्वमा एआई र डेटा साइन्सको माग उच्च छ, नेपालमा पनि प्रविधिको प्रयोग बढेसँगै यसको माग उच्च छ, डेटा एनलाइसिस्, वेव डेभलपमेन्ट, मार्केटिङ सबै कुरामा एआईको प्रयोग छ भविष्य पनि गज्जबको छ” डेटा साइन्समा अध्ययन गर्दा, तपाईं ठूलो परिमाणको डेटा विश्लेषण, मेसिन लर्निङ, र कृत्रिम बुद्धिमत्ताको उपयोग सिक्नुहुन्छ। यो कोर्स नेपालमै सिम्रिक कलेजमा वा भारत-अमेरिकाका विश्वविद्यालयमा पाइन्छ। पाइथन, आर प्रोग्रामिङ, र क्लाउड कम्प्युटिङ सिक्न सकिन्छ।
नेपालमा सिम्रिक कलेज, त्रि.वि लगायतका कलेजमा डेटा साइन्स र एआई पढाई हुन्छ । यसवाहेक रोहनले झैँ विदेशि कोर्सहरु पनि पर्याप्त भेटिन्छ ।
मिडिया टेक्नोलोजी र डिजिटल कन्टेन्ट क्रिएसन
सिर्जनशीलता, प्रविधि, र अभिव्यक्तिको संगम खोज्दै हुनुहुन्छ? मिडिया टेक्नोलोजी र डिजिटल कन्टेन्ट क्रिएसन तपाईंको लागि उत्कृष्ट संयोजन हो। यहाँ तपाईं भिडियो सम्पादन, डिजिटल ब्रान्डिङ, सामाजिक सञ्जाल रणनीति, र पत्रकारितासम्मको ज्ञान लिन सक्नुहुन्छ। पूर्वाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा यो विषय अध्ययन गर्न सकिन्छ।
फुड टेक्नोलोजी र कुलिनरी आर्ट्स
खानाको स्वाद मात्र होइन, त्यसको विज्ञान पनि बुझ्न मन छ भने, फुड टेक्नोलोजी र कुलिनरी आर्ट्स उत्कृष्ट विकल्प हो। कोर्सले पोषण विज्ञान, पाक कला, र अन्तर्राष्ट्रिय खानाका बारेमा जानकारी दिन्छ। त्रिभुवन विश्वविद्यालयमा बीएससी फुड टेक्नोलोजी वा थाइल्यान्ड, फ्रान्सजस्ता देशमा क्युलिनरी आर्ट्स अध्ययन गर्न सकिन्छ। रेस्टुरेन्ट, होटल, वा आफ्नै फ्युजन किचन खोल्ने सपना यथार्थमा बदल्न सकिन्छ।
साइबर सेक्युरिटी र एथिकल ह्याकिङ
आजको संसारमा सुरक्षा केवल भौतिक सीमासम्म सीमित छैन। डिजिटल संसारको सुरक्षाका लागि ‘एथिकल ह्याकर’को आवश्यकता छ। बीएससी इन साइबर सेक्युरिटी पढेर तपाईं नेटवर्क सुरक्षा, साइबर अपराध रोकथाम, र ह्याकिङ प्रविधिमा दक्ष बन्नुहुन्छ। नेपालका आइटी कलेजहरू वा विदेशमा युके-अमेरिकाका विश्वविद्यालयहरू उपयुक्त छन्। CEH वा CISSP जस्ता सर्टिफिकेसन प्राप्त गरेपछि बैंक, सरकार, वा टेक कम्पनीमा उच्चस्तरीय काम गर्न सकिन्छ।
